कुलमानको आग्रह- 'महामारीकाे बेला पुनर्नियुक्तीको माग गर्दै प्रदर्शन नगरिदिनुस्'
काठमाडौं - नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा प्रदर्शन नगर्न समर्थकलाई आग्रह गरेका छन् ।
पछिल्लो केहिदिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा घिसिङलाई पुन: नियुक्तीको माग गर्दै प्रदर्शन भैरहेको छ ।
घिसिङले आफ्नो पक्षमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले आज शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ’, उनले विज्ञप्तिमा भनेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन सबैलाई घिसिङले अनुरोध गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस