बिहे भोज खाएका बेहुला बेहुलीसहित १ सयभन्दा धेरै बिरामी
काठमाडौं - खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सय जना भन्दा बढी बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ ।
भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बिरामी परेकामध्ये केहीको गम्भीर छ। बिहे भोज खाने सबै गाउँले बिरामी परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट इन्सपेक्टर विजय लामिछानेको नेतृत्वमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको यही माघ २१ गते विवाह भएको थियो। घरमा बेहुली भित्र्याएपछि राई परिवारले माघ २२ गते गाउँलेका लागि भोजको आयोजना गरेका थिए।
पाहुना र गाउँले गरि झण्डै डेढसय जनाले मासुभात, दाल तरकारी, अचारसहितको भोज खाएका थिए। भोज खानेजति सबै बिरामी परेको खबर आएपछि अनुसन्धानका लागि प्रहरी खटिएको हो ।
स्वास्थ्यकर्मीहरुले भोज खानेलाई ‘फुडपोइजन’ भएको आशंका गरेका छन्। स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेल पनि घटनास्थलमा पुगेका छन्।
भण्डै ३० जनाको अहिले उपचार चलिरहेको प्रहरीले जनाएको छ। चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट गएका ७ जना स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस