काठमाडौं - पोखरा फाइनान्सको २८औँ तथा २९औँ वार्षिक साधारणसभाले समृद्धि फाइनान्ससँग मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

आज सम्पन्न साधारणसभाले पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर प्रक्रिया अघि बढाउने निर्णय अनुमोदन गरेको हो। उक्त सभा कास्कीको पोखरास्थित बाँस्तोलाथरमा रहेको दरबारथोक बैंक्वेटमा सम्पन्न भएको थियो।

सभामा मर्जरसम्बन्धी विशेष प्रस्तावमाथि छलफल गर्दै आवश्यक निर्णय पारित गरिएको कम्पनीले जनाएको छ। सभाले पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ। मर्जरपछि शेयर संरचना परिमार्जन हुने भएकाले सोअनुसार कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ। साथै, दुवै कम्पनी १ः१ शेयर स्वाप रेसियोमा मर्ज हुने विशेष प्रस्ताव समेत पारित गरिएको छ।

सभाले मर्जर प्रक्रियासँग सम्बन्धित सम्पूर्ण आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव स्वीकृत गरेको छ। मर्जरपछि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएर एकीकृत कारोबार सुरु गर्ने अर्को विशेष प्रस्ताव पनि सभाबाट अनुमोदन भएको छ।

त्यसैगरी, सभाले पोखरा फाइनान्सको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।

सभा प्रयोजनका लागि पोखरा फाइनान्सले गत पुस ३० गते बुक क्लोज गरेको थियो। यसअनुसार पुस ३० गतेसम्म कायम रहेका शेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन योग्य भएका थिए।