रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती थियाे, क्षमा चाहन्छु : जबरा
काठमाडौं - महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको बयान लिइरहेको छ । तेस्रो दिनको बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्विकारेका छन् । जबराले श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताए । सो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए ।
उनले भने, ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ ।’ श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायँमा जबराले ८ वर्षमा झारेका थिए । यसमा न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार भएकाले त्यसलाई प्रयोग गरेको उनको भनाइ छ ।
रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको उनले बताए । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको भन्दै उनले भने, ‘जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।’
आज समिति सदस्यहरुले जबरासँग पाँच वटा प्रश्न सोधेका थिए । महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस