काठमाडौं -  नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आजको बैठकमा एमालेतर्फ लागेका नेताहरुलाई  कारबाही गर्ने तयारी गरिएको छ । 

शनिबार बसेको स्थायी कमिटी बैठकले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । यस्तै, एमालेतर्फ लागेका २३ नेतालाई पार्टी परित्याग गरेको हो अथवा होइन जानकारीका लागि २४ घण्टे स्पष्टीकरण सोधेको थियो । उनीहरुले स्पष्टीकरण नदिएको खण्डमा आजको केन्द्रीय कमिटी बैठकबाट कारबाही गर्ने बताइएको छ । बैठक  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बिहान ११ बजे बस्ने तय भएकाे छ ।

माओवादीका ती २३ नेतालाई शुक्रबार मात्र एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरिसकेका छन् । एमाले पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेपछि माओवादीका तर्फबाट निर्वाचित व्यक्तिहरुको सांसद पद कानुनबमोजिम स्वतः गुम्ने देखिएको छ । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ काे उपदफा (२) मा उपदफा (१) बमोजिम कुनै सदस्यले दल त्याग गरेमा भने त्यस्तो सदस्यको पद जाने स्पष्ट गरिएको छ ।  उपदफा (२) मा उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिने उल्लेख छ ।

माओवादीबाट एमालेतर्फ लागेका नेताहरु:

१) रामबहादुर थापा

२) टोपबहादुर रायमाझी

३) लेखराज भट्ट

४) मणिचन्द थापा

५) प्रभु साह

६) टंक आङबुहाङ

७) पासाङ शेर्पा

८) ज्वाला साह

९) टेकबहादुर बलामी

१०) कमल जंग

११) मनोज थापा

१२) विषमलाल अधिकारी

१३) लिलाबहादुर थापा

१४) दधिराम न्यौपाने

१५) दिनेश पन्थी

१६) नवीन रोका

१७) धर्मराज रेग्मी

१८) डम्बर विष्ट

१९) गौरीशंकर थारु

२०) झपट बोहरा

२१) गिरधर लाल

२२) दावा लामा

२३) चन्द्रबहादुर खड्का