राष्ट्रिय सभामा १८ पद, ४५ उम्मेद्वार
काठमाडौं - राष्ट्रिय सभाका १८ सिटमा आइतबार ४५ जनाको उम्मेद्वारी दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार महिला समूहमा १६, दलितमा ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यकमा ९ र अन्य समूहमा १९ जनाले उम्मेद्वारी दिएका हुन् ।
राष्ट्रिय सभामा पहिलो चरणको दुईवर्षे कार्यकार पूरा भएर आउँदो फागुनबाट महिलातर्फ ७, दलिततर्फ २, अपांग भएका वा अल्पसंख्यकका तर्फबाट २ र अन्य समूहमा ७ पद रिक्त हुँदैछन् । प्रदेश १ र ५ मा ३/३, प्रदेश २, ३, गण्डकी, कर्णाली र सुदुरपश्चिमका २/२ सिट खाली हुन लागेका छन् ।
तिनै पदका लागि माघ ९ मा निर्वाचन हुँदै छ । प्रदेश संसद र स्थानीय तहका प्रमुखहरु/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष मतका आधारमा राष्ट्रिय सभा सदस्य प्रदेशस्तरबाट चयन हुन्छन् । सो चुनावमा प्रदेश २ मा नेकपा र राजपाले तथा कांग्रेस र समाजवादी पार्टीले चुनावी गठबन्धन गरेका छन् ।
अन्य स्थानमा नेकपा, कांग्रेस, समाजवादी र राजपा आ–आफ्नै तवरले उठेका छन् । प्रदेश ३ मा नेमकिपा र गण्डकी तथा प्रदेश ५ मा राष्ट्रिय जनमोर्चाको पनि उम्मेद्वारी परेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आइतबार उम्मेद्वारी दिएकामाथि सोमबार(आज) बिहान १० बजे देखि ४ बजेसम उजुरी दिन सकिने छ ।
फेसबुक पेज Like गर्नुहोस