बलिउड अभिनेता दीलिपकुमारको निधन
काठमाडौं - बलिउड अभिनेता दीलिपकुमारको निधन भएको छ। बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।
जुन ३० मुम्बईको हिन्दुजा अस्पतालमा भर्नामा भएका उनको बुधबार उपचारका क्रममा निधन भएको हो । विभिन्न रोगले सताएका उनी यसअघि जुन ६ मा पनि अस्पताल भर्ना भएर उपचारपछि डिस्चार्ड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर(हाल पाकिस्तान)मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । उनले १९४४ मा फिल्म ‘ज्वार भाटा’ मा काम गरेका थिए ।
दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।
देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल-ए-आजाम(१९६०), गंगाजमुना(१९६१), क्रान्ति (१९८१), कर्म (१९८६) लगायत फिल्ममा उनको अभिनय निकै सशक्त छ।
दिलीप कुमारले आठ फिल्मफेयर अवार्ड जितेका छन् । उनी १९९१ मा पद्म भूषण र २०१५ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । १९९४ मा दादा साहेब फाल्के अवार्ड पाएका थिए । २००० देखि २००६ सम्म उनी राज्यसभा सदस्य पनि बनेका थिए ।
फेसबुक पेज Like गर्नुहोस