काठमाडौं - बलिउड अभिनेता अक्षयकुमार भगवानको भूमिकामा देखिने भएका छन् । चलचित्र ‘ओ माई गड २’ मा उनी दोस्रो पटक भगवानको भूमिकामा देखिन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि यसै चलचित्रको पहिलो सिक्वेलमा उनले यस्तो भूमिका निर्वाह गरेका थिए । बलिउडमा ‘ओ माई गड’ को सिक्वेलका लागि लामो समयदेखि चर्चा थियो । अहिले भने चलचित्रको सिक्वेल बन्ने तयारी पूरा भएको निर्माण पक्षले जनाएको छ ।

‘ओ माई गड’ को सिक्वेलमा अभिनेता परेश रावल भने नदेखिने भएका छन् । यो चलचित्रका लागि रावलको स्थानमा पंकज त्रिपाठी भित्रिएका छन् । साथै चलचित्रका निर्देशक समेत फेरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । ‘ओ माई गड’ उमेश शुक्लाले निर्देशन गरेका थिए भने सिक्वेलको निर्देशन अमित रायले गर्ने छन् । चलचित्रमा अभिनेता अक्षयकुमार, पंकजका साथमा अभिनेत्री यामी गौतम समेत प्रमुख भूमिका रहनेछिन् । चलचित्रको छायांकन अगस्टमा सुरु हुने जनाइएको छ ।

चलचित्रका लागि अभिनेता अक्षयकुमारले १५ दिनको समय निर्देशकका लागि दिएका छन् । उनले यो चलचित्रमा काम गर्नुअघि ‘बेल बोटम’ काम सक्ने जनाइएको छ । जुन चलचित्रका लागि उनी इंल्याण्ड जानेछन् । त्यहाँबाट फर्किएपछि उनले ‘ओ माइ गड २’ सुटिङ गर्नेछन् ।