एसईई परीक्षाफल कसरी सार्वजनिक हुन्छ ? यस्तो बन्यो कार्यविधि
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो हप्तासम्म एसईई परीक्षाफल प्रकाशित गर्ने गरी कार्यविधि तयार गरेको छ ।
कार्यविधिअनुसार सबै विद्यालयले असार २० गतेसम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाउन र इकाइले असार ३० गतेभित्र सबै अंक बोर्डमा पठाउन भनिएको छ ।
विद्यालयको मूल्यांकन समिति र इकाइले पठाएको नम्बर प्रविष्ट गरी सो नम्बरलाई अक्षरांक पद्धतिमा समाविष्ट गरी परीक्षाफल प्रकाशित गरिने कार्यविधिमा उल्लेख छ । बोर्डले बुधवार सबै विद्यालय र इकाइलाई सोसम्बन्धी निर्देशन दिनेछ । परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षाको कार्यविधि तयार भएलगत्तै बुधबारवाट प्रक्रिया शुरू हुने जानकारी दिए ।
साउन ७ गतेबाट ११ कक्षाको नयाँ शैक्षिक सत्र शुरू हुने गरी परीक्षाफल प्रकाशित गर्ने तयारी भएको जानकारी गराउँदै परीक्षा नियन्त्रक खकुरेलले सोहीअनुसार तयारी गरेको बताए ।बोर्डले मंगलवार माध्यमिक शिक्षा परीक्षा (एसईई) १० कक्षाको मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि पारित गरेलगत्तै आन्तरिक कार्यतालिका तयार गरेको हो । सोमवार बसेको बोर्डको बैठकले कार्यविधि पारित गरेपनि केही त्रुटि भएको कारण मंगलवार सार्वजनिक गरेको हो ।
कोरोनाको महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) तोकिएको मितिमा सञ्चालन हुन नसकेको र महामारी कायम रहने अवधिसमेत अनिश्चित रहेको हुँदा विद्यार्थीको शैक्षिक सत्र समेतलाई मध्यनजर गरी शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा ४ट(१) मा उल्लिखितमध्ये कक्षा १० का विद्यार्थीको हकमा सम्बन्धित विद्यालयबाट गरिएको अन्तिम मूल्यांकनका आधारमा प्रमाणपत्र उपलब्ध गराउने उल्लेख गर्दै ऐनको दफा २० अनुसार बोर्डले कार्यविधि तयार गरेको छ ।
कार्यविधिमा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहने गरी ३ सदस्यीय समिति गठन गर्ने व्यवस्था गरेको छ ।
समितिमा सम्बन्धित कक्षा शिक्षक, माध्यमिक तहका शिक्षकमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ, शिक्षक प्रतिनिधि सदस्य हुने व्यवस्था गरिएको छ ।
सैद्धान्तिक मूल्यांकनको लागि माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार विद्यालयहरुले लिएका परीक्षाहरूमध्ये अधिकतम पाठ्यक्रम समावेश हुनेगरी पछिल्लो पटक लिइएको परीक्षाको अंकलाई विषयगत पूर्णांक अन्तर्गत परिवर्तन गरी विषयगत अन्तिम मूल्यांकनको प्राप्तांक दिने व्यवस्था उल्लेख गरिएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
प्रयोगात्मक मूल्यांकनअनुसार प्रयोगात्मक प्राप्तांक चढाउँदा सम्बन्धित विद्यालयहरुले यसअगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाएको विवरणमा फरक नपर्ने गरी सोही अंक चढाउनुपर्ने व्यवस्था गरिएको छ ।
कार्यविधिमा खुला विद्यालयमा अध्ययनरत विद्यार्थीको हकमा समेत सम्बन्धित विद्यालयले पाठ्यक्रम बमोजिमको प्रक्रिया अबलम्बन गर्नुपर्ने उल्लेख छ ।
विद्यालयले राखेको अभिलेख बोर्डबाट परीक्षाफल प्रकाशन नभएसम्म मूल्यांकन विवरण गोप्य राख्नुपर्नेछ । विक्रम संवत् २०७६ सालको एसइई परीक्षाको मूल्यांकन करीब ५ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।
बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारको निर्देशनअनुसार कार्यविधि तयार गरेको बताए । उनले भने, ‘कार्यविधिमा उल्लेख गरेअनुसार बुधबारबाटै प्रक्रिया शुरू हुनेछ ।’

.gif)




फेसबुक पेज Like गर्नुहोस