काठमाडौं - बुधबार मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीले सोमबार अस्पतालबाट डिस्चार्ज मागेका छन् । स्वास्थ्य राम्रो भएको भन्दै ओलीले उपचारमा खटिएका चिकित्सकसँग आगामी सोमबार डिस्चार्ज दिन आग्रह गरेका हुन् ।

मिर्गौला प्रत्यारोपणको नेतृत्व गरेका शिक्षण अस्पताल महाराजगन्जका प्रा।डा। प्रेमराज ज्ञवालीका अनुसार प्रधानमन्त्रीले जतिसक्दो चाँडै डिस्चार्ज मागेका छन् ।

शनिबार राउन्डमा गएका चिकित्सकसँग उनले यस्तो प्रस्ताव राखेका हुन् । तर, डिस्चार्ज दिएपछि घरमा आरामभन्दा भेटघाट बढ्ने भन्दै २–४ दिन बढी अस्पतालमा राख्ने पक्षमा चिकित्सकहरू छन् ।

चाँडै डिस्चार्ज दिँदा विगतमा भेटघाट र कार्यक्रमले आराम नपाएको भन्दै यसपटक चिकित्सक केही दिन बढी प्रधानमन्त्रीलाई अस्पतालमै आराम गराउने पक्षमा देखिएका हुन् । प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्यले पनि चिकित्सकलाई केही दिन अस्पतालमै आराम गराउन अनुरोध गरेको चिकित्सक बताउँछन् ।

उपचारमा संलग्न एक चिकित्सकले शाक्यको भनाइ उद्धृत गर्दै भने, ‘विगतको अस्पताल बसाइ पनि निकै कम भयो, डिस्चार्ज दिएपछि उहाँलाई सचिवालयका मान्छेले आराम गराउनेभन्दा पनि कार्यक्रममा बढी लैजाने गरे । त्यसैले यसपटक अस्पतालमै केही दिन राखिदिनुहोला ।’ 

नयाँ पत्रिकाबाट