आईसीसी विश्वकप लिग टू: पिएनजीसँग भिड्दै नेपाल
काठमाडौं-आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले आज सोमबार पपुवा न्युगिनी (पिएनजी)सँग खेल्दैछ ।
कीर्तिपुरस्थित टियु मैदानमा घरेलु टोली नेपाल र पिएनजीबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ । विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा आवश्यक छ ।
नेपालले यही सिरिज अन्तर्गतको पहिलो खेलमा पिएनजीलाई पराजित गरेको थियो । घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपाल नेपालले विश्वकप लिग टूको अन्तिम खेल मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।
नेपालले सन् २०१८ मा पहिलो पटक क्रिकेटमा एकदिवसीय मान्यता पाएको थियो । हाल जारी लिग–२ को शीर्ष पाँच स्थानसम्म कायमै रहने राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एकदिवसीय मान्यता दिने प्रावधान छ ।
नेपाल सात राष्ट्र सम्मिलित लिग–२ को चौथौ स्थानमा उक्लेको छ । जारी शृङ्खलामा हालसम्म नेपालले ३४ खेलबाट ३६ अङ्क जोडेको छ । यस्तै, ३४ खेलमा ५ मा जित २८ मा हार व्यहोरेको पिएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस