काठमाडौं - हाम्रो टीम नेपालले खुलामञ्‍चमा खाना खुवाउने अभियानलाई निरन्तरता दिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले आजबाट खाना खुवाउने अभियान बन्द गर्न भनेपनि अभियानलाई निरन्तरता दिइएको हो ।

हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तका अनुसार खाना खुवाउनका लागि उचित ठाउँको व्यवस्थापन गर्न नसकिएको र मानिसहरु लामबद्ध भएर बसेपछि आज पनि खुलामञ्‍चमा खाना खुवाइएको हो । प्याकेटमा खाना वितरण गर्न खोजे पनि मानिसहरु खुलामञ्‍चमै लामबद्ध भएर बसेपछि खाना वितरण गर्न बाध्य हुनुपरेको उनको भनाई छ ।

हाम्रो टिम नेपालले गत चैत ११ देखि कोरोना महामारीका कारण सिर्जना भएको लकडाउनपछि खान खान नपाएर समस्यामा परका व्यक्तिहरुलाई खाना खुवाउँदै आएको छ । तर, काठमाडौँ महानगरले अव्यवस्थित रुपमा खाना खुवाउँदा संक्रमण फैलने डर भएको भन्दै पटकपटक उक्त अभियानमा अवरोध खडा गर्दै आएको छ । महानगर र अभियन्ताबीच आजदेखि खुलामञ्‍चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो ।