प्रधानमन्त्रीलाई कांग्रेस सचेतक लेखकको प्रश्न : जवाफ दिन डराएर सदनबाट भाग्नु भएको हो ?
काठमाडौं - नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेका हुन् ।
उनले गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेतामाथि लगाएको आरोप सम्बन्धमा प्रधानमन्त्री प्रचण्डको जवाफ माग गरे ।
सचेतक लेखकले भने,‘केही समय पहिले गृहमन्त्रीले कांग्रेसका नेताहरूलाई लाञ्छनायुक्त अभिव्यक्ति दिनुभएको थियो । यसमा हामीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छौ । प्रधानमन्त्री धेरै दिनदेखि संसद्मा आउनु भएको छैन । तयारी चलिरहेर हो कि ? जवाफ दिन डराएर सदनबाट भाग्नु भएको हो ?’
कांग्रेसले सरकार प्रमुख र राष्ट्र प्रमुखले विदेश भ्रमण गर्दा संसद्लाई जानकारी गराउने स्थापित परम्परालाई अहिले तोडिनु संसदीय सर्वोच्चताको अपमान भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ।
जेठ ६ गते संसद्लाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछानेले देशको गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट संसदमा रहेको बताएका थिए ।
उनले प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको उनले सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस