काठमाडौं - चीनस्थित नेपाली दूतावासले स्वदेश फर्काइने नेपालीलाई सुरक्षित स्थान (क्वारेन्टाइन)मा बस्दा र नेपाल फर्किने क्रममा पालना गर्नुपर्ने विषयको सर्तनामा गराएको छ । सर्तनामाअनुसार नेपाल ल्याइएपछि उनीहरूले १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा रहँदा विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको सर्त पालना गर्नुपर्नेछ ।

दूतावासले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार बुधबार सर्तनामा गराइएको हो । क्वारेन्टाइनमा रहँदासम्म परिवार र आफन्तलाई भेट्न नपाइने, त्यहाँ गरिएको खाने, बस्ने, संक्रमणको रोकथाम र उपचारको व्यवस्थापनबारे सर्तनामामा उल्लेख छ ।

सरकारले चीनबाट ल्याइने नेपाली राख्न क्वारेन्टाइनको व्यवस्था गरिसकेको छ । ६० कोठाको क्वारेन्टाइनमा १८६ बेड राखिएका छन् । प्रत्येक बेड एक मिटरको ‘ग्याप’मा राखिएको छ । ६ जनाले एक शौचालय प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । त्यहाँ दुई सय ५० जनासम्म अटाउन सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेका लागि खाने व्यवस्था सेनाले गर्नेछ ।

अभिभावकले दुई हप्ता क्वारेन्टाइनमा रहँदा परिवारसँग सम्पर्क गर्न सिमका साथै इन्टरनेटको व्यवस्था गर्न माग गरेका छन् । सरकारले भने पहिलो दायित्व नेपाल ल्याउनु भएको भन्दै इन्टरनेट सुविधा दिनेबारे तत्काल कुनै योजना नबनाएको बताएको छ ।

क्वारेन्टाइन स्थलमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाएको सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी रोगको शंका लागेमा अस्पताल र रोगको लक्षण नभएकालाई मात्र क्वारेन्टाइनमा लगिनेछ ।

सरकारले चीनको हुबेई प्रान्तका विभिन्न स्थानमा रहेका एक सय ८० नेपाली लिन शनिबार नेपाल वायुसेवा निगमको एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज वुहान पठाउँदै छ । जहाजमा एक चिकित्सक, दुई नर्स र एक पारामेडिक्स रहेको चिकित्सक टोली पनि जानेछ । उनीहरूसहित चीनबाट ल्याइएका नागरिकको उपचारमा संलग्न हुने ८६ स्वास्थ्यकर्मी र चीन जाने जहाजको चालक दलका १६ सदस्यलाई स्वास्थ्य मन्त्रालयले तालिम दिइसकेको छ । 

नयाँ पत्रिकाबाट