काठमाडौं,एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले भनेका छन्– यदि अफगानिस्तानलाई समयमै सहयोग उपलब्ध गराउन नसक्ने हो भने यहाँ मानवीय संकट पैदा हुनेछ । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’को एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 

उनले अहिले पनि अफगानिस्तानमा ठूलो संकट परेको र यसलाई समयमै समाधानको उपाय नखोज्ने हो भने यसबाट समस्या पनि उत्पन्न हुन सक्ने बताएका छन् । गएको अगष्ट १५ सम्म पनि अफगानिस्तानको करिब आधा जनसंख्या गरिबीमा रहेको र त्यस समयमै यहाँका करिब ७५ प्रतिशत बजेट बैदेशिक सहयोगमा निर्भर रहेको भन्दै उनले आगामी दिनहरु अफगानिस्तानका लागि निकै कष्टकर हुनसक्ने बताएका हुन् । 

उनले हाल तालिबान शासन सुरु भएपछि यहाँको अवस्था झन् नाजुक बन्दै गएको र वैदेशिक सहायताको रकम पनि उपलब्ध हुन नसकेको भन्दै सहयोगका लगि आग्रह गरेका हुन् ।उनले वैदेशिक सहायताका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् । उनले अफगानिस्तानको अवस्थाको सुधारका लागि विदेशी दाता राष्ट्र र देशले सहयोग गर्नुपर्ने भन्दै सबैको ध्यानाकर्षण गराएका हुन् ।