काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले जातीय विभेदविरुद्ध ठोस कानून बनाएर समस्या समाधान गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक दलप्रति आफूहरूको विश्वास टुटिसकेको पनि बताए ।

उनले भने–‘यो राज्य संविधान मान्दैन । राज्यले अन्याय गर्छ । राजनीतिक पार्टीसँग त हाम्रो विश्वास टुटिसक्यो । यो सदनमा हरेक वर्ष दलितमाथि हुने जातीय विभेदको विरुद्ध सरकारलाई ठोस कानून बनाएर अघि बढ्न म आग्रह गर्छु ।’

हरेक वर्ष अन्तरजातीय विवाह गरेको र प्रेम गरेकै कारण उठिबास लगाउने काम भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

उनले भने–‘हाम्रा सबै प्रयत्नबाट संविधान निर्माण गर्यौं । तर, आज हरेक वर्ष दलितले अन्तरजातीय विवाह गरेबापत मारिनुपर्ने ? प्रेम गरेका कारण दलितहरू उठिबास लाग्नुपर्ने रु राज्यका संयन्त्रहरू दलितका अधिकार कुल्चिन प्रयोग हुनुपर्ने ?’