पहिरोले अरुण नदी आंशिक थुनियो
काठमाडौ - मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि अरुण नदी आंशिक थुनिएको छ । आइतबार बिहान खसेको पहिरोले घर बगाएपछि एक परिवार विस्थापित भएको छ ।
संखुवासभा प्रहरीका डीएसपी नवराज मल्लका अनुसार करिब ६ सय मिटरमाथिबाट झरेको पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर लामो ड्याम बनेको छ । ड्याम बने पनि नदीबाट पानी भने बग्न थालिसकेको छ ।
पहिरोले प्रकाश राईको सात जनाको परिवार विस्थापित भएको हो । स्थानीय हिरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको डीएसपी मल्लले बताए ।
प्रहरीले अरुण तेस्रो आयोजनाको पावरहाउसस्थल पुखुवा आसपास, हेलुवाबेसी, चेवाबेसी, मनकामनालगायत क्षेत्रका स्थानीयलाई नदी किनारमा नजान र सतर्क रहन आग्रह गरेको छ । घटनास्थलमा नेपाली सेना र प्रहरीले विस्थापितको उद्धार गरेका थिए ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा पर्छ । पहिरोले नदी थुनिएपछि संखुवासभा, भोजपुर र धनकुटा प्रशासनले तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेका छन् ।
धनकुटा प्रशासनले सूचना जारी गर्दै पाख्रीबास नगरपालिका, सहिदभूमि गाउँपालिका र साँगुरीगढी गाउँपालिकाका बासिन्दालाई अरुण नदीको तटीय क्षेत्रमा नजान आग्रह गरेको हो । अरुण थुनाएकोभन्दा तलको भागमा संखुवासभाको खाँदबारी नगरपालिकासहितका स्थान पर्छन् ।
अर्कातिर भोजपुरका षडानन्द नगरपालिका तथा साल्पासलिचोङ, अरुण, पौवादुङ र हतुवागढी गाउँपालिका पनि पर्छन् । विकट स्थानमा थुनिएकाले प्राकृतिक रूपमै नदी खुल्नुको विकल्प नरहेको स्थानीय प्रशासनले जनाएको छ ।
कान्तिपुर दैनिकबाट

.gif)




फेसबुक पेज Like गर्नुहोस