आयरल्यान्डसँग नेपालको अप्रत्यासित हार
काठमाडौं - ओमानमा जारी चारदेशीय टी–ट्वान्टी सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाल पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल टेष्ट टोली आयरल्यान्डसँग १७ रनले पराजित भएको हो ।
आयरल्यान्डकाे १ सय २८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमै समेटिएको हो ।
आयरल्यान्डको घातक बलिङका सामू नेपाली खेलाडी क्रिजमा चल्न सकेनन् । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २८ रन तथा आशिफ शेखले २३ रन बनाउनुबाहेक अन्यले रन जोड्न सकेनन् । कुशल भुर्तेलले १५ रन, कमलसिंह ऐरीले १३ रन तथा कुशल मल्लले ९ रन बनाउँदा लोकेश बम ६ रन, ज्ञानेन्द्र मल्ल ५ रन तथा शरद भेष्वाकर १ रनमै आउट भए ।
आयरल्यान्डका सिमी सिंह, एन्डी म्याकर्थी, मार्क आदिर र ब्यारी म्याकर्थीले समान २–२ विकेट लिए भने कर्टिस क्याम्फरले १ विकेट लिए ।
त्यसअघि ओमानको अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएकाे थियाे । आयरल्यान्डका लागि जर्ज डोकरेलले सर्वाधिक २८ रनको योगदान दिए । त्यसैगरी कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी माइकब्राइनले ११ रन, ग्यारेथ डिलानीले ९, पल स्टर्लिङले २ तथा सिमी सिंहले १ रन जोडे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गरे । उनले सर्वाधिक ४ विकेट लिए । यस्तै अविनाश बोहराले दुई तथा सन्दीप लामिछाने, कमलसिंह ऐरी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए । याे हारसँगै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीलाई हराउँदै इतिहास रच्ने अवसर पनि गुमाएको छ ।
सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराउँदा दोस्रो खेलमा युएईसँग २५ रनले पराजित भएको थियो । अब नेपाली टोलीले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट खेल्नेछ । नेपालले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि ६ फागुनदेखि ओमानमा ग्लोबल छनोट खेल्दैछ । ग्लोबल छनोटमा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल सहित क्यानडा, ओमान र फिलिपिन्स छन् ।समूह ‘बी’ मा बहराइन, जर्मनी, आयरल्यान्ड र यूएई छन्। नेपालले ६ फागुनमा आयोजक ओमान, ७ फागुनमा फिलिपिन्स र ९ फागुनमा क्यानडाविरुद्ध खेल्नेछ ।
दुवै समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रवेश गर्नेछन् । १२ फागुनमा हुने फाइनल खेलका दुई प्रतिस्पर्धी टोली विश्वकपका लागि छनोट हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस