काठमाडौं - हाल नेपालमा पश्चिमी वायु र पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले देशभरको मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना रहेको छ।

बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा अहिले बादल लागेको छ। बाँकी प्रदेशका पहाडी भेगमा पनि आंशिक बादल लागेको छ।

अहिले गण्डकी प्रदेशका पहाडी भू-भाग र बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। कोशी र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

कोशीको तराई तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ। राति देशभरको हिमाली भू-भागमा बादल लाग्नेछ।हिमाली भेगका थोरै स्थान र पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।