पर्सामा मेयर, स्वास्थ्यकर्मी र पत्रकारसहित थप ९२ जनामा कोरोना पुष्टि
पर्सा - पर्सामा थप ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका, जगरनाथपुर गाउँपालिका र सखुवाप्रसौनी गाउँपालिकाका गरी ९२ जनामा सङ्क्रमणको पुष्टि भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए ।
सङ्क्रमण पुष्टि हुनेहरुमा मेयर, स्वास्थ्यकर्मी र पत्रकार पनि रहेका छन् । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि गएकाे साउन २७ गते एघार सयभन्दा बढीको स्वाब परीक्षणको लागि काठमाडाैं पठाइएको थियो ।
विभिन्न पालिकाको क्वरेण्टीनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि धुलिखेलमा रहेको प्रयोगशालाबाट रिपोर्ट प्राप्त भएको हो । वीरगञ्ज महानगरपालिकाका ३८ जना, पोखरियाका नगरपालिकाका ३३ जनामा कोरोना पुष्टि भएको छ ।
पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मी र एक जना पत्रकार रहेका छन् । त्यस्तै,जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी, सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यहाँ पनि ४ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएको गाउँपालिका स्वास्थ्य संयोजक राजेश रौनियारले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस