काठमाडौं - भुटानबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई अनुदानमा दिएको तीन लाख डोज एस्ट्रजेनका खोप आज नेपाल आइपुगेको हो ।

भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट खोप आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

आज आइपुगेको खोप अहिले टेकुमा भण्डारण गरिएको र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका महानिर्देशक प्राध्यापक आरपी विच्छाले बताए ।

७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो ।

भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।