काठमाडौं - सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।

आज बसेको समितिको बैठकले नेपाल दूरसञ्चार प्राधिकरणलाई टेरामक्स खरिद प्रक्रियासँगै कार्यान्वयन र जडान प्रक्रिया समेत रोक्न निर्देशन दिएको हो।

यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको छ । लेखा समितिले टेरामक्स प्रणाली खरिदबारे नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम लगायतका निकायका अधिकारीहरुसँग छलफल गरेको थियो ।

समितिका सभापति ऋषिकेश पोखरेलले भने, ‘टेरामक्स खरिद प्रक्रियाको सबै काम हाललाई यथास्थितिमा राख्दै हालसम्म सम्पादित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गर्दा यो प्रक्रियामा सैद्धान्तिक, नीतिगत र सर्वोच्च अदालतको परमादेश समेत उल्लंघन भएको समितिको ठहर छ । यसबारे शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन समिति अख्तियारलाई निर्देशन गर्दछ ।’

समितिले खरिद प्रक्रियामा १५ प्रश्न उठाउँदै सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको छ । साथै प्रणाली खरिदमा हालसम्म भएका कामको सुक्ष्म विश्लेषण गरी अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको छ ।