काठमाडौं - विराटनगरस्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा शनिबार दिउँसो एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

विराटनगर–८ का ६९ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएको छ। भदौ २२ गते उनमा कोरोना भाइरस पुष्टि भएपछि उपचारका लागि केन्द्रमा भर्ना गरिएको मोरङका जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए।  

‘कोरोना पुष्टिपछि केन्द्रमा उपचार भइरहेको थियो,’ प्रमुख बस्नेतले भने, ‘खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या रहेको र उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै साढे १२ बजेतिर मृत्यु भयो।’ मृतक पुरुष प्रेसर र सुगरको पुरानो बिरामी रहेको अस्पतालले जनाएको छ।  

यससँगै कोरोना संक्रमणबाट विराटनगरमा हालसम्म मृत्यु हुने १७ जना पुगेका छन् भने प्रदेश १ मा ४७ जनाको मृत्यु भएको छ।