काठमाडौं - नेपाल प्रहरीका १३ जना पूर्वमहानिरिक्षकहरुले प्रहरी एकेडेमी सार्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा सामूहिक रुपमा भेटेर प्रहरी एकेडेमीलाई काभ्रे सार्ने तयारी फिर्ता लिन पूर्वमहानिरीक्षकहरुले आग्रह गरेका हुन् ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले महाराजगञ्जमा राष्ट्रपति कार्यालयसँगै रहेको एकेडेमीलाई काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो । ओली सरकारको उक्त निर्णयलाई फिर्ता लिन आग्रह गरिएको एक पूर्व महानिरीक्षकले जानकारी दिए ।

लामो समयदेखि महाराजगञ्जमा रहेको एकेडेमीका कारण राष्ट्रपति कार्यालयलाई असर परेको भन्दै ओली सरकारले सार्ने निर्णय लिएको थियो । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री देउवाले छलफल गरेर निर्णय लिने जवाफ दिएका छन् ।