हेटौंडा - जिल्ला अदालत मकवानपुरले आफ्नै छोरी बलात्कार गर्ने एक ४९ वर्षीय बाबुलाई ३७ वर्ष कैदको फैसला गरेको छ । अदातले एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति स्वरुप पीडकबाट उपलब्ध गराउनुपर्ने पनि फैसलामा उल्लेख गरिएको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्‍न श्रेष्ठको सोमबार बसेको इजलासले हेटौंडा उपमहानगरपालिका—८ का एक पुरुषलाई किशोरी छोरी बलात्कार गरेको ठहर गरपछि यस्तो फैसला गरेको हो ।

घरमा सुतिरहेकी १७ वर्षीया छोरीलाई उनले २०७५ चैत २ गते छुरी देखाएर करणी गरेका थिए । पिताबाटै असुरक्षित भएपछि बारा जिल्लाको कोल्पीमा आफन्तकहाँ बस्न थालेकी पीडित युवतीले आफन्तलाई घटनाबारे बताएकी थिइन् । आमाले अर्को बिवाह गरेको र बाबुले घरमा सानीआमा भित्र्याएका थिए ।

गत चैत ११ गते पीडक बाबुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । बलात्कारी बाबु अहिले क्षेत्रीय कारागार भीमफेदीमा सजायँ भोगिरहेका छन् ।