काठमाडौं,एजेन्सी - स्पेनिस च्याम्पियन रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह बी को खेलमा इन्टर मिलानलाई पराजित गरेको छ ।

गएराति इन्टरको मैदानमा रियलले २-० गोल अन्तरले पराजित गरेको हो । खेलमा रियलले खेलको सातौं मिनेटमा इडेन हाजार्डको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । पेनाल्टी क्षेत्रभित्र निकोलो बरेलाले नाचो फर्नान्डेजलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

३३ औं मिनेटमा आर्टुरो भिडालले रातो कार्ड प्राप्त गरेपछि इन्टर मिलान १० खेलाडीमा समेटियो । पेनाल्टी क्षेत्रभित्र राफेल भारानले ट्याकल गरेपनि पेनाल्टी मागेका भिडाललाई रेफ्री एन्थोनी टेलरले अत्याधिक कराएपछि पहेंलो कार्ड देखाएका थिए ।

दोस्रो हाफको ५९ औं मिनेटमा रियलका लागि रोड्रीगोले दोस्रो गोल गरे । मैदान प्रवेश गरेको ३० सेकेन्ड नबित्दै उनले लुकास भाज्केजको क्रसमा पेनाल्टी क्षेत्र भित्रबाट भली प्रहार गर्दै अग्रता दोब्बर बनाए ।

बाँकी समयमा कुनै तर्फबाट थप गोल हुन सकेन । रियल म्याड्रिड ४ खेलमा ७ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । इन्टर २ अंकसहित पुछारमा रहेको छ ।