काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को ७७ जिल्लामा र्‍यापिड टेस्ट किटबाट परीक्षण सुरु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म जम्मा परीक्षण संख्या २७ हजार ४ सय ७१ पुगेको छ । पीसीआर विधिबाट ८ हजार ६७ जना र १९ हजार ४ सय ५४ को आरडीटी कोरोनाको परीक्षण भएको जानकारी दिए । उनले देशैभरका क्वारेन्टाइनमा चार हजार ५३६ जना रहेको बताए ।

“नेपालमा शुक्रबार १४ जना कोरोना संक्रमित थपिएसँगै हालसम्म ३० जना  पुगेका छन्, जसमा दुई जना निको भएका छन्,” उनले भने, “हिजो भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ ।” 

२८ जना कोरोना संक्रमितमध्ये पाटन अस्पतालमा २ जना, धवलागिरि अस्पतालमा २, सेती प्रादेशिक अस्पतालमा ५, नारायणी उपक्षेत्रीय अस्पतालमा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ र कोशी अञ्चल अस्पतालमा १४ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, मन्त्रालयका अनुसार शुक्रबार भेटिएका १४ जना संक्रमितको कन्ट्राक ट्रेसिङ गर्ने काम भइरहेको छ । हाल काठमाडौं उपत्यकामा ५ र बाहिर १ सय १२ गरी जम्मा १ सय १७ जना आइसोलेसनमा छन् ।

मुलुकभर ४ हजार ५ सय ३६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयको मोबाइल एपमा ३ जना रहेका छन् । हालसम्म रेड जोनमा पर्नेको संख्या २ सय ५४ जना पुगेको छ ।