काठमाडौं, चितवन - भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका –१० का ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिका –३ की ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो।

भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय कोरोना सङ्क्रमित पुरुषको विहान १ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणसहित श्वासप्रश्वासमा समस्या भई आइतबार मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए । उनमा कार्तिक १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । कोभिड निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै धादिङको निलकण्ठ नगरपालिका –३ की ६१ वर्षीया वद्धाको उपचारका क्रममा आज विहान २ः५५ बजेको समयमा भरतपुर अस्पतालमा नै मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएकी उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि ती महिलाको कार्तिक ९ गते देखि कोभिड आइसीयूमा रोखर उपचार गरिएको थियो ।