गुडिरहेको मोटरसाइकलबाटै बाघले थुतेर लगेको महिलाको शव फेला
काठमाडौं - कैलाली लम्किचुहा नगरपालिका ४ की ५० वर्षीया नन्दकला थापाको शव फेला परेको छ । थापालाई गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टनजिक गुडिरहेको मोटरसाइकलबाटै बाघले आक्रमण गरेर लगेको थियो।
शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनास्थलबाट करिब ३ सय मिटर भित्र वनमा शव फेला परेको एक अधिकृतले जानकारी दिए ।
गएराति करिब १० बजेतिर आमा र छोरा सवार सु।प।प १००८ प। ६८०१ नम्बरको मोटरसाइकल सुस्त गतिमा गुडिरहेको अवस्थामा बाघले पछाडी बसेकी नन्दकलालाई आक्रमण गरेको लगेको थियो । छोरालाई भने सामान्य चोट लागेको थियो ।
त्यसलगत्तै थापाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस