काठमाडौं - सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको अन्तिम तयारी गरेको छ । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद्को बैठकबाटै निर्णयको तयारी भइरहेको छ ।

एक सातापछि प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अवकाश पाउने भएकाले नयाँ आईजीपी नियुक्ति गर्न लागिएको हो । विगतमा अन्तिम दिनमा निर्णय गर्ने परम्परा तोड्दै सरकारले एक साताअघि नै नियुक्तिको गृहकार्य गरेको हो ।

३३औं आईजीपीको दाबेदारमध्ये दानबहादुर कार्की पहिलो नम्बरमा छन् । प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश हुँदा गरेको फैसलाको नजिरका आधारमा पनि आईजीपी नियुक्तिमा उनलाई सहज हुने बताइएको छ ।

प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल प्रहरीमा वरियता मिच्ने पक्षमा छैनन्। यहि कारण पनि कार्कीलाई आईजीपी बन्न सहज देखिन्छ । यद्यपी वरियतामा पछि रहेकाहरु उनीविरुद्ध कुरा लगाएर नियुक्तिमा चलखेल गरिरहेका छन् ।

दोस्रो नम्बरमा रहेका राजन अधिकारी, तेस्रो नम्बरमा रहेका मनोज केसी र चौथो नम्बरमा रहेका शिद्धिबिक्रम शाह पनि दौडधपुमा छन् ।

‘कुनै विवाद भएन भने बिहीबार नै निर्णय हुन्छ,’ प्रधानमन्त्री निकट एक अधिकारीले भने,‘नत्र सोमबारको मन्त्रिपरिषद्बाट प्रहरीको नयाँ नेतृत्व तय हुनेछ ।’