एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई वेस्ट बैंकमाथि केही गर्न नदिने बताएका छन् ।

इजरायली संसद्‍ले वेस्ट बैंकका केही भागहरूमा इजरायली कानुन लागू गर्ने विधेयकलाई प्रारम्भिक स्वीकृति दिएपछि ट्रम्पको यो भनाइ आएको हो। उक्त कदम वेस्ट बैंकलाई गाभ्ने पहिलो चरणका रूपमा हेरिएको थियो।

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरुसँग भनेका छन्- ‘वेस्ट बैंकको चिन्ता नगर्नुस् । इजरायलले वेस्ट बैंकका साथ केही गर्दैन ।’

अमेरिकी उपराष्ट्रपति जे।डी। भान्सले ट्रम्पको अडानलाई समर्थन गर्दै राष्ट्रपति ट्रम्प वेस्ट बैंकलाई विलय गर्ने कदमको कडा विरोधी रहेको र यस्तो कार्य मूर्खतापूर्ण राजनीतिक स्टन्ट हुने बताए। उनले ट्रम्पको नीति सधैँ स्पष्ट रहेको उल्लेख गरे।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यस्तो कदमले गाजा युद्ध अन्त्य गर्ने ट्रम्पको शान्ति योजनालाई गम्भीर असर पुर्‍याउन सक्ने चेतावनी दिएका छन्।

वेस्ट बैंक के हो ?

वेस्ट बैंक मध्यपूर्वको एउटा विवादित भूभाग हो । यो इजरायल र जोर्डनको बीचमा अवस्थित छ । यो जोर्डन नदीको पश्चिम किनारमा भएका कारणले यसलाई ‘वेस्ट बैंक’ अर्थात् ‘पश्चिम किनार’ भनिएको हो ।

हाल वेस्ट बैंकको केही भाग प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा र केही भाग इजरायलको नियन्त्रणमा छ । यहाँ रामल्लाह, हेब्रोन, बेथलेहेम, नब्लस र जेरिकोजस्ता मुख्य शहरहरू पर्दछन् ।

करिब ५ हजार ६४० वर्ग किलोमिटर क्षेत्रफलको यो भूभागमा करिब ३० लाख प्यालेस्टिनीहरुको बसोबास रहेको छ ।