काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य रुपमा राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीलाई आह्वान गरेका छन् । कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा वृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् ।

राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले जमीन खेर नफाल्न, बाँझो नराख्न तथा अत्यधिक उत्पादन बढाउन जोड दिएका छन्।

'जमीन खेर नफालौँ, बाँझो नराख्न तथा अत्यधिक उत्पादन र प्रतिफल दिनेगरी खेती गरौँ, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन बृद्धिमा केन्द्रित हौँ' ओलीले भने, 'सबै प्रतिफल लिन सकिने ठाउँमा धान लगाऔँ र अरु प्रकारका जमिनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ ।'

अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए ।