काठमाडौं - सलह समात्नेलाई प्रदेश पाँच सरकारले प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । शनिबार प्रदेश पाँचमा फट्यांग्रो प्रजातीको आकाशमा उड्ने खालको सलह किरा देखापरेपछि प्रदेश सरकारले सलह किरा समातेर वडा कार्यालयमा ल्याएवापत प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको हो ।

समातिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप उक्त रकम उपलब्ध गराउने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ ।

बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत गरेवापत प्रोत्साहन रकम लिन मन्त्रालयले आग्रह गरेको छ । भारतको सीमा क्षेत्र हुँदै नेपाल प्रवेश गरेको सलह किरा सामान्यतया दुई ग्रामको हुने यो सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने विज्ञहरूको भनाइ छ ।