काठमाडौं - मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात भएको छ । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु दर्शनार्थीहरु प्रभावित भएका छन् ।

हिजो साँझसम्म अवस्था सामान्य भएपनि आज बिहान भने हिउँ परेको स्थानीयले बताएका छन् । बाटोमा हिउँ जमेकाका कारण हिँडडुल गर्न कठिन भएको प्रहरीले जनाएको छ ।

तीन–चार इञ्च हिउँ जमेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गरी हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।

मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ ।

तिहारको छेकोमा मुस्ताङसहित हिमाली क्षेत्रमा पदयात्रामा जाने ह्वात्तै बढेका छन् । छठसम्म बिदा भएकाले पदयात्रीको संख्या ह्वात्तै बढेको तर अब कार्यालयहरू खुलेसँगै बिस्तारै कम हुने अनुमान गरिएको छ ।

अहिले पनि मुस्ताङमा स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइचो लागेको छ । चाप बढि हुँदा मुस्ताङ पुगेका पर्यटकहरुले बस्नका लागि होटल नपाएको गुनासो गरिरहेका छन् । मौसम प्रतिकुल हुनसक्ने देखिएकाले हेलचेक्रयाइँ नगर्न प्रहरी र प्रशासनले अनुरोध गरेको छ ।