काठमाडौं - काठमाडौं महानगरले साझा यातायातसँगको सहकार्यमा २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । 

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात र यसको विकल्प नहुँदा सबैलाई समस्या परेकाले रात्रिकालीन बस चलाउन लागिएको जानकारी दिइन् ।

रात्रिकालीन बस सेवाअन्तर्गत दुई वटा रुट तय गरिएको छ । यी दुई रुटमा ४ वटा विद्युतीय बसराति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछन् ।

तोकिएको रुटका बस स्टपमा हरेक २० मिनेटको अन्तरमा बस आउने व्यवस्था मिलाइएको छ ।

साथै बसमा सिसिटिभी क्यामरा जडान हुनेछन् भने सुरक्षाका लागि नगर प्रहरी खटिने छन् । 

ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल, गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म एउटा रुट हुनेछ । 

त्यसैगरी अर्को रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको रहेको छ । पूर्व पश्चिम दिशाको एकतर्फी यो रुटको दूरी २० किलोमिटर रहेको छ । थानकोटबाट चल्ने यो बस सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने छ ।