काठमाडौं - चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्चस्तरीय टोली र पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको टोलीले मंगलबार बिहान एमाले पार्टी कार्यालय च्यासलमा ओलीसँग भेटवार्ता गरेको हो ।

उनीहरूबीच दुई देशको द्विपक्षीय हित, दुई देशका कम्युनिष्ट पार्टी र चिनियाँ परियोजनाका विषयमा छलफल भएको बालकोट स्रोतले जनाएको छ । उनीहरुबीच बीआरआई परियोजना अघि बढाउन भइरहेको बिलम्बबारे पनि छलफल भएको छ ।

आइतबार काठमाडौं आएको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता लगायतसँग भेटवार्ता गरेका थिए । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली भ्रमणमा रहेकाले भर्चुअल संवाद गरेका थिए ।