काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले शानदार जित निकालेको छ । 

सोमबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पाहुना टोली मलेसियालाई ९ विकेटले पराजित गरेको हो । जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपालले १२.१ ओभरमा १ विकेट गुमाउँदै ११३ रन बनायो । 

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । कुशलले ६१ रन प्रहार गरे । आसिफले ४२ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ६ रन बनाए । मलेसियाका लागि भिरनदिपसिंहले एक विकेट लिए ।

यसअघि टस हारेर व्याटिङको निम्तो पाएको मलेसियाले  १६.५ ओभरमा १० विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।

मलेसियाका लागि साद आजिजले २७ रन बनाए । अनवार अर्दिनले ८, अहमद फाइजले ३, भिरेनदिप सिंहले ६, शार्विन मुनियान्डीले २०, शाफिक शारिफले १५ रन जोडे । यस्तै, अमिनुद्दीन राम्लीले ५, खिजार हायातले ४, साजरुल उर्दिसुले ८, अनवार रहमानले १ र पवनदिप सिंहले शून्य रन बनाए । 

नेपालका लागि करन केसीले सर्वाधिक तीन विकेट लिए । सन्दिप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एक/एक विकेट लिए । 

शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।