काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मध्याह्न भएको भेटवार्तामा उनीहरूबीच करिब आधा घण्टा छलफल भएको हो।

सभामुख अर्याल प्रधानमन्त्री शाहलाई भेट्न मंगलबार मध्याह्न १२ः२० बजे प्रधानमन्त्री कार्यालय पुगेका थिए। उनीहरूबीच १२ः५५ बजेसम्म भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भेटमा संघीय संसद्को चालु अधिवेशन, संसद्को कामकारबाही तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

यसैबीच, प्रधानमन्त्री शाहले सीमा सम्बन्धमा दिएको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने विषय पनि भेटवार्तामा उठेको छ।

गत जेठमा प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री भएपछि नेपालले पनि भारतको भूमि मिचेको विषय थाहा पाएको बताएका थिए।

त्यसयता विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन वा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने माग गर्दै आएका छन्।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट नहटाइएको भन्दै कतिपयले सभामुखको भूमिकामाथि समेत प्रश्न उठाउँदै आएका छन्।

त्यसैले भेटवार्तामा सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर सांसदहरुले राखेका प्रश्नको जवाफ दिन समेत आग्रह गरेका स्रोतले जनाएको छ ।

यद्यपी, प्रधानमन्त्री शाहले यसबारे कुनै ठोस जवाफ नदिएको बुझिएको छ