काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ ।

बिहीबारको बैठकमा एवं उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरासहित ५६ जना केन्द्रीय सदस्यले उक्त प्रस्तावमा आआफ्ना धारणा राखे। बैठकमा बोल्न प्रत्येक केन्द्रीय सदस्यलाई ५ मिनेट समय उपलब्ध गराइएको छ ।

बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता छ । बिहीबारको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले प्रचण्ड नेतृत्वको सरकारले थालनी गरेका सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका कामको समर्थन गर्दै पार्टी रुपान्तरणमा जोड दिएका छन् ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही साउन १७ देखि जारी छ। हालसम्म ७४ सदस्यले धारणा राखिसकेका छन् ।