सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौं-सार्वजनिक लेखा समितिले १०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार बसेको लेखा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको १०० किलो सुन प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको हो।
जेष्ठ नागरिकका रुपमा समितिको सभापतित्व गरेका कांग्रेस सांसद अर्जुन नरसिंह केसीले १०० किलो सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराएका थिए। बैठकमा एमाले सांसद योगेश भट्टराईले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने बताएका थिए।
एमालेका सचिव समेत रहेका भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि समेत छानबिन गर्नुपर्ने भएको र उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्न नसक्ने भन्दै उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका थिए। एमालेले सत्तारुढ दलका नेताको संलग्नता बाहेक विमानस्थलबाट सुन तस्करी हुन नसक्ने आरोप लगाउँदै आएको छ। सुन तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।
फेसबुक पेज Like गर्नुहोस