काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका वार्ता टोलीका सदस्यले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता जोगाउन आग्रह गरेका छन् ।

आइतबार बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङले सो आग्रह गरेका हुन् । छलफलमा नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि सहभागि थिए । 

ओली पक्षका नेताले नेता नेपाललाई अध्यक्ष ओलीसँग छलफल गर्न आग्रह गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । ‘पार्टीलाई एकताबद्ध बनाउन लाग्नोस् । हामी एकताबद्ध छौँ र हुन्छौँ । तपाई र अध्यक्ष ज्यू एकपटक भेटेर छलफल गर्नुस् ।’ ओली पक्षका नेताको भनाई उदृत गर्दै एक नेताले भने । 

उनीहरुले एकताका लागि शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिनसमेत आग्रह गरेका थिए । जवाफमा नेपालले कुनै हालतमा फिर्ता नहुने बताएको स्रोतले बतायो । उनले ओलीसँग भेट्न सक्ने पनि सम्भावना भने रहेको जवाफ दिए ।

यता, प्रधानमन्त्री ओलीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै माधव पक्षलाई कारवाही गरिने बताएका छन् । उनले देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको समय दिएका छन् ।