काठमाडौं - विश्वकप फुटबलको समूह चरणअन्तर्गत दोस्रो खेलमा पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेले दुईपटकको विश्वविजेता उरुग्वेलाई २–२ को रोमाञ्चक बराबरीमा रोक्दै प्रभावशाली प्रदर्शन गरेको छ।

सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वेविरुद्ध केप भर्डेले आत्मविश्वासपूर्ण खेल प्रदर्शन गर्दै लगातार दोस्रो खेलमा अंक जोड्न सफल भयो। यसअघि स्पेनसँग गोलरहित बराबरी खेलेको केप भर्डेले यस खेलमार्फत विश्वकप इतिहासकै पहिलो गोल पनि दर्ता गर्यो।

केप भर्डेका लागि केभिन पिना ९प्भखष्ल एष्लब० ले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसको केहीबेरमै उरुग्वेले खेलमा पुनरागमन गर्यो। ४३औँ मिनेटमा मेक्सी अराउजोले बराबरी गोल गरे भने पहिलो हाफको इन्ज्युरी समयमा अगस्टिन क्यानोब्बियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।

तर दोस्रो हाफमा केप भर्डेले हार मानेन। खेलको ६०औँ मिनेटमा हेलियो भरेलाले उत्कृष्ट गोल गर्दै खेललाई पुनः २–२ को बराबरीमा ल्याए। त्यसपछि दुवै टोलीले जितका लागि प्रयास गरे पनि थप गोल निस्कन सकेन।

यो बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। लगातार दोस्रो बराबरी खेलेको केप भर्डे र उरुग्वे दुवैले दुई खेलबाट समान २ अंक जोड्दै अन्तिम समूह चरणको खेलअघि नकआउट सम्भावना जीवित राखेका छन्।

विश्व फुटबलमा नयाँ टोलीका रूपमा उदाएको केप भर्डेले विश्वविजेता उरुग्वेसँग अंक खोस्दै प्रतियोगितामा आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा स्थापित गरेको छ ।