काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोभिड-१९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने चेतावनी दिए। 

कांग्रेसले गठन गरेको कोभिड-१९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझ्दै शुक्रबार सभापति देउवाले दशैंलगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त बिरोध कार्यक्रम गर्ने बताए। 

कोभिड-१९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको देउवाको भनाइ छ। सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्न भन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेका देउवाको आरोप छ।

औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर, कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको देउवाले टिप्पणी गरे। 

नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड-१९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक, सामाजिक कठिनाइप्रति संवेदनशिल नभएको बताए।

उनले सरकारलाई जिम्मेवार बनेर काम गर्न समेत माग गरे। कोभिड-१९ का कारण नागरिक समस्यामा परेको भन्दै उद्दार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन महतले माग गरे।

कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति, विज्ञ र कोभिड-१९ रोकथाम तथा नियत्रणमा खटिएका व्यक्तिहरूसँग समन्वय गरी अनुगमन गरेको जनाएको छ। समितिले कोभिड-१९ संक्रमण समुदायस्तरमा फैलिँदा समेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको छ।