काठमाडौं - सरकारले एलपी ग्यास पनि छिट्टै सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बताएका छन् ।

नेपाल एलपी ग्याँस उद्योग संघको २४ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री यादवले निम्न आय भएका उपभोक्ताहरुको हितलाई ध्यानमा राखेर सरकारले सो ग्याँस छिट्टै सहुलियत दरमा उपलब्ध गराउने जानकारी दिएका हुन् ।

उनले आर्थिक रुपले सम्पन्न नागरिकहरुलाई एलपी ग्याँसको मूल्य बढाएको भएपनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा सो ग्याँस उपलब्ध गराउन सम्बन्धित निकायसँग छलफल भईरहेको बताए ।

मन्त्री यादवले व्यवसायीहरुसँग मिलेर सरकारले एलपी ग्याँसको आपूर्ति व्यवस्थालाई सहज ढंगले अघि बढाईरहेको दावी पनि गरे ।