काठमाडौं,एजेन्सी - विवादास्पद सीमा क्षेत्रबाट सेना फिर्ता बोलाउन भारत र चीन सहमत भएका छन् । दुबै देशका उच्च सैन्य अधिकारीहरुको वार्तामा आ–आफ्नो क्षेत्रबाट सीमामा खटाइएको सैनिक फौज फिर्ता बोलाउने सहमति भएको हो ।

भारतीय विदेश मन्त्रालयले सहमतिपछि दुवै देशका सैनिक अधिकारीहरुले पाङगोङ त्सो तालबाट सुरक्षाकर्मी फिर्ता बोलाएको जानकारी दिएका छन् ।

यस्तै अन्य क्षेत्रमा रहेका सेना पनि फिर्ता बोलाउने प्रक्रिया सुरु भएको विदेश मन्त्रालयले जनाएको छ । दुवै देशले लद्दाखलगायत अन्य क्षेत्रमा देखिएको विवाद समाधानका लागि पनि वार्ता जारी राख्ने बताएका छन् ।

दुवै देशले फेब्रुअरी ११ मा विवादास्पद सीमा क्षेत्रबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेका थिए । सीमा स्वामित्वका बारेमा विवाद हुँदा गत वर्ष भारत र चीन दुवै पक्षमा सेनाको मृत्यु भएको थियो ।

जुनमा गलवानमा भएको झडपमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको थियो । भारत र चीनबीच सीमा स्वामित्वलाई लिएर लामो समयदेखि विवाद छ ।