भारतमा अनियन्त्रित बन्यो कोरोना, नेपालीहरुमा पनि जोखिम बढ्दो
काठमाडौं - भारतमा बुधबारदेखि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि लागू गरिएका निर्देशनहरूलाई थप खुकुलो पारियो । जसअनुसार जोखिममुक्त क्षेत्रमा रात्रिकालीन कर्फ्यु हटाउनेदेखि जिमखाना र योगा सेन्टरहरूलाई पनि खोल्न अनुमति दिइएको छ ।
भारतमा जुनको पहिलो सातादेखि संक्रमण फैलिन नदिन लगाइएको लकडाउन र अन्य नियमहरूलाई खुकुलो पार्दै लगिएको हो । तर, कोरोना संक्रमण भने घट्नुका साटो दिनहुँ तीव्र गतिमा बढ्दै गएको छ । संक्रमणले हरेक दिन नयाँ कीर्तिमान बनाउन थालेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गएको ३ दिनमै डेढ लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । गएको एक दिनमा मात्र थप ५७ हजारभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ । जुन अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो । ५० हजारभन्दा बढी नयाँ संक्रमित थपिएको यो लगातार तेस्रो दिन हो । यो सँगै भारतमा कुल संक्रमितको संख्या करिब सत्र लाख पुगेको छ ।
साथै पछिल्लो एक दिनमा मात्र थप ७ सय ६४ जनाको मृत्यु भएको छ । योसमेत गरी भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ हजार ५ सय ११ नाघेको छ । विश्वका कोरोना भाइरसले संक्रमित मुलुकहरूमध्ये भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ भने संक्रमणबाट मृत्यु हुने संख्याका हिसाबले इटालीलाई समेत उछिन्दै पाँचौं स्थानमा पुगिसकेको छ । संक्रमितमध्ये करिब ११ लाख भने उपचारपछि निको भइसकेका छन् ।
भारतमा पहिलो संक्रमण ३० जनवरीमा केरलामा पुष्टि भएको थियो । तर, करिब महिनाभित्रै संक्रमितको संख्या १७ लाख पुगेको हो । भारतमा संक्रमित संख्या पहिलो १ लाख पुग्न साढे तीन महिना लागेकोमा थप सोह्र लाखका लागि तीन महिना पनि लागेन । समुदायमा फैलिएका कारण संक्रमण यसरी तीव्र गतिमा बढेको आशंका गरिएको छ । यद्यपि भारत सरकारले केही स्थानमा स्थानीय स्तरमा फैलिए पनि समुदायमै फैलिएको कुरालाई भने अझैसम्म पनि स्वीकार गरेको छैन । हालसम्म भएको मृत्युमध्ये आधाभन्दा बढी त यही जुलाई महिनामै भएको हो ।
विगत केही दिनयता महाराष्ट्र, कर्नाटक, तमिलनाडु, आन्ध्रप्रदेशलगायत राज्यमा संक्रमणको फैलावट उच्च देखिएको छ । यी राज्यहरूमा नेपाली कामदारहरूको समेत बाक्लो उपस्थिति रहेको छ । महाराष्ट्रमा मात्रै पछिल्लो एक दिनमा दस हजारभन्दा बढी नयाँ संक्रमित पहिचान भएका छन् । त्यहाँ १० हजारभन्दा बढी नयाँ संक्रमित थपिएको लगातार दोस्रो दिन हो ।
यो सँगै त्यहाँ कुल संक्रमितको संख्या ४ लाख २२ हजार नाघेको छ । महाराष्ट्रमा त ठूलो संख्यामा सुरक्षाकर्मीहरूसमेत संक्रमित भएका छन् । त्यहाँ ९ हजार २ सयभन्दा बढी संक्रमित भएको बताइएको छ । त्यसैगरी दक्षिण भारतीय राज्य तमिलनाडुमा पनि गएको एक दिनमा करिब ६ हजार संक्रमित बढेका छन् ।
यसअघि संक्रमण खासै नदेखिएका राज्यहरूमा पनि पछिल्लो समय संक्रमण तीव्र गतिले बढिरहेको छ । सिक्किममा कुल संक्रमितको संख्या ६ सय १० नाघेको छ । संक्रमण बढेपछि राज्य सरकारले ३ अगस्टसम्मका लागि लडकडाउन लम्बाउने निर्णय गरिसकेको छ । त्यसैगरी अर्को उत्तरपूर्वी राज्य असममा पनि संक्रमितको संख्या बढेर ३८ हजार नाघेको छ । संक्रमण बढ्दै गएपछि असम राज्य सरकारले अझ दुई हप्ता संक्रमण नियन्त्रणका लागि गरिएको कडाइलाई खुकुलो नपार्ने बताएको छ ।
त्यसैगरी त्रिपुरामा संक्रमितको संख्यामा करिब ५ हजार पुगेको छ । संक्रमणको जोखिम नहटेका कारण अन्तर्राष्ट्रिय उडानलाई ३१ अगस्टसम्म स्थगन गरिएको छ । साथै कतिपय राज्यहरूले लकडाउनलाई क्रमशः थप्दै गएका छन् । तमिलनाडुले लकडाउनलाई ३१ अगस्टसम्म र बिहारले १५ अगस्टसम्म कायम राख्ने निर्णय गरिसकेका छन् ।
संक्रमण बढ्ने क्रमसँगै परीक्षणको दायरालाई भने फराकिलो बनाइएको छ । आईसीएमआरका अनुसार हालसम्म १ करोड ९३ लाख ५८ हजारभन्दा बढीको कोरोना परीक्षण भएको छ । पछिल्लो समय परीक्षणको दायरालाई थप फराकिलो गर्दै लगिएको छ । शुक्रबार मात्र ५ लाख २५ हजारभन्दा बढीको परीक्षण गरिएको आईसीएमआरले उल्लेख गरेको छ ।
यसैगरी नेपालसँग सीमा जोडिएका उत्तरप्रदेश र बिहारमा पनि संक्रमणमा बढ्ने क्रममा छ । उत्तरप्रदेश (यूपी) मा गएको एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै जनामा संक्रमण पुष्टि भएको छ । यूपीमा गएको एक दिनमा ३ हजार ८ सयभन्दा बढी संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या ८९ हजार नाघेको छ । त्यसैगरी अर्को छिमेकी राज्य बिहारमा संक्रमितको संख्यामा विस्फोटक ढंगले वृद्धि देखिएको छ ।
गएको एक दिनमा मात्रै बिहारमा करिब ३ हजार नयाँ बिरामी थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रमितको संख्या करिब ५५ हजार पुगेको छ । भारतका अत्यधिक जनसंख्या भएका यूपी र बिहार स्वास्थ्य पूर्वाधार र जनशक्तिका हिसाबले अन्य राज्यहरूको तुलनामा निकै कमजोर मानिन्छन् । त्यसैले यी राज्यहरूमा कोरोनाको संक्रमण बढ्दै जाँदा सीमा जोडिएका कारण नेपालमा पनि संक्रमणको जोखिम स्वतः बढ्ने देखिन्छ ।
भारतमा रहेका नेपालीहरूमध्ये संक्रमितको संख्या पनि उकालो लाग्दो छ । विशेषगरी महाराष्ट्र, तमिलनाडु, कर्नाटकलगायत राज्यमा संक्रमण बढ्दै जाँदा ती राज्यहरूमा बाक्लो संख्यामा रहेका कारण नेपालीहरूमा पनि संक्रमणको जोखिम बढ्दै गएको हो । भारतमा २० लाखभन्दा नेपाली कामदारहरू रहेको अनुमान छ ।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार हालसम्म ८९ नेपालीहरू संक्रमित भएका छन् । र, १४ जनाको मृत्यु भएको छ । तर, भारतमा रहेका प्रवासी नेपाली संगठनहरूले भने संक्रमित र मृत्यु हुने नेपालीको संख्या दूतावासले बताएभन्दा धेरै बढी रहेको दाबी गर्ने गरेका छन् ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस