एजेन्सी - बिबिसीको एक अनुसन्धानले बंगलादेशमा रहेको विश्वकै ठूलोमध्ये एक अनुमतिप्राप्त कोठी (ब्रोथेल) पत्ता लगाएको छ, जहाँ सात वर्षको उमेरदेखि नै बालबालिकालाई देहव्यापारका लागि तयार गरिने तथ्य अगाडि आएको छ । 

बंगलादेशमा महिला १८ वर्ष पुगेपछि देहव्यापारमा लाग्न कानुन लाग्दैन, तर राजधानी ढाकाबाट करिब एक सय किलोमिटर टाढा दउलाटदियास्थित एक विशाल कोठीमा रहेका केही युवतीहरू भने आफूहरूलाई सात वर्षको हुँदादेखि नै देहव्यापारमा लाग्न बाध्य बनाइएको बताउँछन् ।

अन्य केही भने आफूलाई झुक्याएर यहाँ ल्याइएको बताउँछन् ।  ‘म १९ वर्षको हुँदा यहाँ ल्याइएको थियो । मलाई यहाँ रहन बाध्य पारियो र मेरो इच्छाविपरीत काम गराइयो’, परिचय खुलाउन नचाहाने एक युवती भन्छिन्, ‘ऊ मेरो आफन्त थिएन, मेरै गाउँको चिनेको मान्छे थियो । उसले मलाई अन्तै कतै लाने भनेर झुक्याएर यहाँ ल्यायो ।’  आक्की एक परामर्शदाता हुन्, उनी यहाँ स्थानीय परोपकारी संस्थाका लागि काम गर्छिन् । उनी कोठीमा गएर यौनकर्मीलाई सहयोग गर्ने प्रयास गर्छिन् ।

आक्कीलाई कोठीभित्र जाने अनुमति हुँदैन । कुनै यौनकर्मीलाई परामर्श चाहिएको छ र उनको ग्राहक आएको छ भने आक्कीले ढोकाबाहिर कुरेर बस्नुपर्छ ।  हेर्दा कुनै पुरानो बंगलादेशी गाउँजस्तो देखिने उक्त कोठी गाउँमा वास्तवमै विश्वको एक ठूलो देहव्यापार हुने बजार हो ।


यहाँ करिब एक हजार बालबालिका छन् । १५ वर्षअघि ११ वर्षको हुँदा पहिलो ग्राहकको सामना गरेकी कोठीमै जन्मिएकी २६ वर्षीया महिला बताउँछिन् । ‘यहाँ बस्दा कसैलाई राम्रो लाग्ला र रु यो ठाउँ छोडेर अन्य ठाउँ गएपछि मात्रै राम्रो हुनेछ,’ उनी भन्छिन् ।  के यहाँबाट बाहिर जान मिल्छ रु भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘मेरी आमालाई भेट्न प्रायः आउने–जाने गर्छु । तर, मलाई पैसाको आवश्यकता पर्छ ।’  कोठीनजिकै सेभ द चिल्ड्रेन परोपकारी संस्थाले पाँचदेखि ६ वर्षका बालबालिकाका लागि एक स्कुल स्थापना गरेको छ ।

त्यहाँ केही संख्यामा कोठीका बालबालिका पनि पढ्न जान्छन् । तर, उनीहरूको गतिविधि नै फरक छ स्कुलमा ।  ‘बालबालिका सारी लगाउँछन्, उनीहरू लिपिस्टक लगाउँछन् । उनीहरू आफूलाई ऐनामा हेर्छन् र गेटमा जान्छन्,’ स्कुलकी एक शिक्षिका भन्छिन्, ‘यति सानो उमरमै यी सब नगरुन् भन्ने चाहन्छौँ हामी ।’  ‘ठूलो भएपछि के बन्न चाहन्छौँ भनेर सोध्दा उनीहरू आफ्नाी आमाजस्तै बन्ने जवाफ दिन्छन्,’ उनी भन्छिन्, ‘म उनीहरूलाई तिम्री आमा नराम्रो काम गर्छिन् भन्छु ।’ कोठीदेखि केही सय मिटर पर सेभ द चिल्ड्रेनद्वारा निर्मित एक सुरक्षित गृह छ, जसमा करिब २० जना किशोरी छन् ।

यी किशोरी सातदेखि १७ वर्ष उमेर समूहका छन् । यहाँ रहेका धेरैजसो युवती आफ्नो अनुहार देखाउन चाहँदैनन् । यहाँ रहेका शिक्षिकासमेत आफ्नो अनुहार देखाउन चाहँदैनन्, किनकि यो क्षेत्र कोठीसँगै जोडिएको छ ।  यदि, कोही महिला त्यो क्षेत्रबाट छिन् अथवा त्यही जन्मिएकी छन् भने उनीहरूले अन्य कुनै प्रकारको रोजगार पाउँदैनन् र उनीहरूको विवाह पनि हुँदैन । किनकि, त्यो क्षेत्रमा बस्नु उनीहरूका लागि ‘कलंक’ हो ।  तर, यो सुरक्षित गृहको एक मुख्य नियम के छ भने यी युवतीहरूलाई फेरी कोठी फर्कने अनुमति छैन ।


९ वर्षको उमेर सरक्षित घरमा ल्याइएकी एक युवतीले यही शिक्षा पाइन् र अहिले काम पनि पाएकी छिन् । तर, जब उनले कोठी छोडेकी थिइन्, उनले आफ्नी साथीसँग छुट्टिनु पर्यो ।  ‘उनी अग्ली र बाठी थिइन् । उनी निक्कै सुन्दर पनि थिइन् । तर, उनीमाथि कोठीमै काम गर्नुपर्ने दबाब थियो’, उनी सुनाउँछिन्, ‘उनी कोठीमा खुसी थिइनन्, तर त्यस समय सुरक्षित गृह अन्य बढी बालबालिका लिने अवस्थामा थिएन ।’ ‘एक रात उनको आमाले एक ग्राहकको कोठामा जबरजस्ती पठाइन् ।

तर, ग्राहक कोठाबाट निस्किएपछि उनले झुन्डिएर आत्महत्या गरिन् ।’ प्रत्येक शुक्रबार युवतीहरूलाई भेट्न उनका परिवारका सदस्य सुरक्षित गृह आउँछन् । ‘म मेरी छोरी बढेको र राम्रो जीवन पाएको हेर्न चाहन्छु’, तीमध्ये एक यौनकर्मी आमा भन्छिन्, ‘मैले मेरो जीवन बर्बाद गरें, उनीहरूले पनि मैलेजस्तै आफ्नो जीवन बर्बाद गरुन् भन्ने चाहन्नँ ।


ठूली भएपछि राम्रो रोजगार पाउँछिन् भन्ने आशा गरेकी छु ।’ ‘आशा छ म मेरो अध्ययन पूरा गर्छु र राम्रो पैसा दिने काम पाउनेछु’, उनकी छोरी भन्छिन्, ‘त्यसपछि म मेरी आमालाई कोठीको जिन्दगीबाट बाहिर निकाल्न सक्नेछु’ ।  सुरक्षित गृहमा बसेबापत माहिनैपिच्छे केही रकम तिर्नुपर्छ, तीमध्ये केही संस्थाले खर्च उठाउँछ, बाँकी उनीहरूको आमाले उठाउनुपर्ने हुन्छ र पक्कै पनि उनीहरूको आमाको पैसा आउने त्यही एक बाटो छ– यौन धन्दा ।’

बिबिसीबाट