एजेन्सी - अविरल वर्षासँगै आएको बाढीका कारण बिहारमा हालसम्म २९ जनाले ज्यान गुमाएका छन् भने कैयौं मानिस घाइते भएका छन् ।

शनिबारदेखि परेको वर्षाका कारण बिहारको जनजीवन प्रभावित भएको छ । सडक र गल्लीमा बाढी पस्दा यातायात समेत अस्तव्यस्त बनेको छ । बाढीमा परी हालसम्म २९ जनाको मृत्यु भएको छ । साथै कैयौं मानिस घाइते भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

पटनाको दानापुर रेलवे स्टेशननजिकै रिक्सामाथि रुख ढल्दा डेढ सालकी बालिका र ३ जना महिलाको ज्यान गएको थियो । त्यस्तै, भागलपुर जिल्लाको बरारी थानाक्षेत्रमा वर्षाका कारण पर्खाल गिर्दा ६ जनाले ज्यान गुमाएका छन् ।

साथै भागलपुरकै एक हनुमान मन्दिरको पर्खाल खस्दा ३ जनाको मृत्यु भएको छ । खंजरपुर इलाकामा २ घर भत्किँदा ५ जना पुरुष र १ जनाको मृत्यु भएको छ ।

लगातारको वर्षाले जनजीवन अस्तव्यस्त भएपछि मंगलबारसम्म शैक्षिक संस्था बन्द गरिएको छ । बिहार सरकारले १४ वटा जिल्लामा भारी वर्षा हुन सक्ने भन्दै नागरिकलाई सचेत हुन भनेको छ ।