काठमाडौं - क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थालेका छन्  । मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको दलले १५६ स्थानमा विजयी हुने देखिएको छ भने मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १२२ स्थान जित्नेछ । मंगलबार बिहानैदेखि प्रधानमन्त्री जस्टिनले नयाँ सरकार गठनका लागि साना दलसँग सहमति जुटाउने प्रयास थालेका छन्  ।

प्रधानमन्त्री जस्टिनले सोमबार मतदान सकिएलगत्तै समर्थकहरुलाई सम्बोधन गर्दै क्यानाडाली जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको बताए । उनले क्यानडाका जनताले प्रगतिशील एजेन्डा र जलवायू परिवर्तन सम्बन्धी सरकारका बलिया योजनालाई खुलेर समर्थन प्राप्त भएको बताए ।

उहाँले क्युबेक, सास्काचेवान र अल्बर्टाका जनताका निराशालाई सरकारले अवश्य ध्यान दिनेछ भने । हाल ४७ वर्ष पुगेकाप्रधानमन्त्री जस्टिनमाथि ४० दिने चुनावी प्रचारका क्रममा मतदाताले चार वर्षे पहिलो कार्यकाल र आगामी दिनका योजनाका बारेमा अनेक प्रश्न गरेका थिए ।

उनले क्यानडाको इतिहासमै यस पटकको चुनावी अभियान “असाध्यै घिनलाग्दो र निम्नस्तरको” भन्दै यसमा सुधार आवश्यक छ भने । चुनावी प्रचारका क्रममा प्रधानमन्त्री जस्टिन र विपक्षी नेता सियरबीच एकअर्का विरुद्ध तिखा व्यङ्ग्य प्रहार भएका थिए ।