काठमाडौं, एजेन्सी - न्यून जन्मदर कम भइरहेकाे भन्दै जापान सरकारले नवविवाहित जोडीका लागि आर्थिक सहयोगको घोषणा गरेको छ । आगामी अप्रिलदेखि विवाह गर्ने नयाँ जोडीले ६ लाख जापनिज रुपैयाँ प्राप्त गर्ने जापान सरकारले घोषणा गरेको छ । 

जापानमा मान्छेहरू कामप्रति निकै समर्पित हुन्छन् । उनीहरू लामो समयसम्म काम गर्छन् । काममै व्यस्त हुँदा धेरै जापानिज ढिला विवाह गर्ने वा अविवाहित नै रहने क्रम बढेको छ । उनीहरूको यही जीवनशैलीका कारण जापानमा जन्मदर घट्दो अवस्थामा छ । सोहीकारण जापान सरकारले नवविवाहित सहयोग कार्यक्रमको घोषणा गरेको हो । सरकारको योजनाअनुसार नवविवाहित जोडीले आफ्नो नयाँ जीवन सुरुवात गर्न सरकारबाट ६ लाख रकम प्राप्त गर्नेछन् ।

४० वर्षभन्दा कम उमेरका बेहुलाबेहुलीले मात्रै रकम पाउँछन्

सरकारले यो कार्यक्रमलाई व्यापक बनाएर देशमा चाँडै विवाह गर्नेको संख्या बढाउने योजना बढाएको द जापान टाइम्सले उल्लेख गरेको छ । यसका लागि सरकारले केही विशेष मापदण्ड तय गरेको छ । मापदण्डअनुसार यो सुविधा लिन चाहने बेहुलाबेहुली दुवैजना विवाह गर्ने समय ४० वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।

जापानको केही स्थानीय तहमा यो कार्यक्रम यसअघिबाटै लागू थियो । गत जुलाईसम्म जापानको दुई सय ८१ नगरपालिका, देशको १५ प्रतिशत सहर र गाउँले यो कार्यक्रम लागू गरेका थिए । त्यसवेलासम्म स्थानीय निकायले आधा खर्च व्यहोर्दै आएका थिए । बाँकी खर्च केन्द्रीय सरकारले व्यहोर्दै आइरहेको थियो । 

यो कार्यक्रम प्रभावकारी देखिएपछि जापान सरकारले देशव्यापी बनाउने उद्देश्यस्वरूप नयाँ घोषणा गरेको हो । नयाँ घोषणाअनुसार जापान सरकारले घोषणा गरेको रकममध्ये तीन भागको एक भाग मात्रै व्यहोर्ने भएको छ । बाँकी रकम स्थानीय सरकारले नै व्यहोर्नेछ ।

सरकारले यो कार्यक्रमबाट प्रत्येक विवाहित जोडीलाई दुई सन्तानका लागि प्रेरित गर्ने लक्ष्य राखेको छ । गत वर्ष जापानमा प्रत्येक महिलाले उसको जीवनभर प्राप्त गर्ने बच्चाको संख्या १.३६ मात्रै थियो । गत वर्ष जापानमा अहिलेसम्मकै कम बच्चा जन्मिएका थिए । जापान सरकारले जनाएअनुसार गत वर्ष त्यहाँ आठ लाख ६५ हजार मात्रै बच्चा जन्मिएका थिए । यो अहिलेसम्मकै कम संख्या हो । 

आर्थिक सहयोगको घोषणाले सर्वसाधारणलाई विवाह गर्न प्रेरित गर्न प्रभावकारी देखिएको जनाइएको छ । सन् २०१५ मा जापानको नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसियल सेक्युरिटी रिसर्चले गरेको सर्भेले आर्थिक सहयोगले जापानी युवायुवातीलाई विवाहका लागि प्रेरित गरेको देखाएको थियो । सर्भेअनुसार यो व्यवस्था सुरु गरिएपछि जापानमा २५ देखि ३४ वर्षसम्मका पुरुषमा बिहे गर्ने क्रम २९.१ प्रतिशतले बढेको देखिएको थियो । यस्तै, अविवाहित महिलामा १७.८ प्रतिशतले वृद्धि भएको देखिएको थियो ।